मिथिला कला माथि राज्यबाट नै विभेद भएको छः कलाकार एससि सुमन

 

एससि सुमन, लोककलाकार (मिथिला चित्रकला)

मिथिला चित्रकला नेपालको मौलिक जीवन्त कला हो । मिथिला चित्रकला अन्तरगत कोरिने प्रतिकात्मक चित्रहरुका आफ्नै किसिमका विशेष अर्थहरु हुने गर्छन् । जुन अर्थ हिन्दू पौराणिक कथासँग जोडिने गरेका छन् । मिथिला सभ्यता बमोजिम कोरिने हरेक चित्रले मानव जीवनका विभिन्न पक्षहरुलाई सङ्केत गरेको हुन्छ । मिथिला क्षेत्र लगायत हिन्दू नेपाली संस्कारमा हरेक पूजाआजा एवं शुभ कार्य शुरु गर्नु भन्दा पहिले भूमिमा विभिन्न चित्र र कलात्मक आकृतिहरु कोरेर जमीनको शुद्धिकरण गरिन्छ । यस कार्यलाई समुदाय अनुसार अलग–अलग नाम दिइने गरिएको हुन्छ । जुन कार्यलाई हिन्दू ब्राह्मणहरुले रेखी हाल्ने भन्ने गर्दछन् । यस्ता रेखी वा प्रतिकात्मक चित्र जुन देवताको पूजा गरिने हो, सोही बमोजिम फरक–फरक हुने गर्छन् । जुन देवताको आह्वान गर्नुपर्ने हो सोही बमोजिम चामलको पीठो माथि सिन्दूर लगायतका अन्य रङहरुबाट मण्डपस्थलमा निश्चित आकृति तयार पारिसकेपछि मात्र उक्त क्षेत्र सत्कर्मको लागि तयार भएको मान्ने गरिन्छ ।

मिथिया चित्रकला मूलतः हिन्दू संस्कृतिसँग नै बढी सम्बन्धित छ । यसको कथा रामायणका मुख्य पात्र रामचन्द्रकी श्रीमती सीताको जन्मस्थल मिथिला (जनकपुर)सँग जोडिएको छ । राजर्षि जनककी छोरी सीताको कथासँग जोडिएको यो क्षेत्रलाई हाल मिथिलाञ्चलको नामले समेत चिनिने गरिन्छ ।

अग्रणी महिलाहरुबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै
मिथिला चित्रकला एउटा मौलिक र जीवन्त नेपाली कला हो । यस्ता कलाकृतिको पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभर नै माग बढ्दो क्रममा छ । यद्यपि मिथिला चित्रकलाको अध्ययन र संरक्षणको लागि अहिले सम्म नेपालमा राज्य पक्षबाट उचित पहल हुन सकेको छैन ।  हाल सम्म यस कलालाई संरक्षण गर्ने कार्यमा मिथिला समुदायका अग्रणी महिला वर्गको ठूलो भूमिका रहँदै आएको छ । पछिल्लो समय नयाँ पुस्ताका युवाहरु पनि मिथिला चित्रकला तर्फ आकर्षित हुँदै गएका छन् । यस्तो ज्ञान मूलतः हाल सम्म आफ्नै परिवारमा आमा एवं हजुरआमा पुस्ताबाट नै नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको कलाकार एससि सुमन बताउँछन् । साथै नेपाली कलाको कुरा गर्नुपर्दा मिथिला कलालाई अलग राखेर अन्य कलाहरुको मात्र व्याख्या गर्न नसकिने समेत उनको धारणा छ ।

अर्थतन्त्रमा योगदान
आर्थिक उपार्जनको हिसाबले पनि नेपालमा मिथिला कलाको ठूलो महत्व छ । यस कलाको माध्यमबाट ठूलो मात्रामा नेपालमा रोजगारी सृजना भएको छ । साथै अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान स्थापना गर्ने माध्यम समेत बन्दै गएको छ यो कला । कलात्मक चित्र निर्माणमा लागेको समय, कलाकारको अनुभव एवं समर्पण र कला प्रदर्शनीमा भएको संलग्नता लगायतका आधारमा कला एवं कलाकारको मापन हुने र सोही बमोजिम निर्मित कलाकृतिको मूल्य निर्धारण हुने गर्दछ । मिथिला लोककलामा अहिले पनि ठूलो समुदायमा महिला समूह नै संलग्न रहँदै आएका छन् । यद्यपि यस कलालाई राज्यले जुन महत्व दिनुपर्ने थियो, त्यस किसिमले राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु दुखद छ । जसले गर्दा यस क्षेत्रमा संलग्न समुदाय निराश हुनुपर्ने स्थिति छ ।

राज्य प्रतिको गुनासो
विगतमा विद्यालय तहको नेपाली किताबमा एउटा पाठ मिथिला कला सम्बन्धमा राखिएकोमा हाल औपचारिक शैक्षिक कार्यक्रमबाट उक्त पाठ (कार्यक्रम) हटाइएको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको करिब साढे ३ सय सय पृष्ठ लामो १० बर्षे (२०१६–२५) ‘नेपालको पर्यटन रणनीति’मा समेत मिथिला कला एवं मिथिला क्षेत्रको वृहत्तर विकास सम्बन्धमा प्रयाप्त सम्बोधन हुन सकेको छैन । जसले गर्दा उक्त रणनीतिले तराई मधेशको सद्भावना राख्न नसकेको सम्बन्धित समुदायको गुनासो छ । साथै भर्खर मात्रै सम्पन्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यसपटक मिथिला चित्रकला क्षेत्रकाे प्रतिनिधित्व गर्ने व्यक्ति काेही पनि समेटिन सकेका छैनन् । जुन दुखद् रहेकाे कलाकार एससी सुमनले बताए ।

पौराणिक महत्व बोकेको मिथिला क्षेत्र
उक्त रणनीतिमा कहीँ कहीँ मात्र लुम्बिनी र जनकपुरको चर्चा गरिएको साथै त्यो अप्रयाप्त रहेको उक्त समुदायको गुनासो छ । मिथिला क्षेत्र प्राचीन काल देखि नै ज्ञानविज्ञान, धर्मदर्शन र कलासंस्कृतिको रुपमा चिनिँदै आइएको क्षेत्र हो । उक्त क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्नसके यहाँका नागरिकहरुको अवस्थामा व्यापक सुधार गर्न सकिने थियो । प्राचीन चित्रकला र शिल्प मुर्ति लगायतको माध्यमबाट जनकपुरलाई कला नगरीको रुपमा परिचित गराउन सके त्यो राष्ट्रको लागि पनि ठूलो उपलब्धि हुने थियो भने कुनै समुदायले पनि आफूहरु राज्यबाट उपेक्षा भएको अनुभव गर्नुपर्ने थिएन ।

सर्वसाधारणको पहुँचमा पुग्दै मिथिला चित्रकला
पछिल्ला समय मिथिला चित्रकलासँग सम्बन्धित आकृतिहरु कप, कचौरा, कुसन कभर, मग लगायतका दैनिक जीवनमा आवश्यक पर्ने हरेक सामानमा देख्न पाइन्छ । साथै स्तरीय होटल, मन्दिर एवं घरमा समेत यस्ता चित्रकला सजाउने प्रचलन बढ्दो छ । विदेशमा समेत यस्ता चित्रकलाको माग बढ्दो छ । जसले गर्दा यस्ता चित्रकलाको माग स्वदेश एवं विदेश दुवै तर्फ बढ्दो छ । यो कला मूलतः मानव जीवन पद्धतिसँग सिधै जोडिएको कारण नै हाल सम्म जीवन्त रहन सकेको कलाकार एससि सुमनको धारणा छ । यस कलामा कोरिने सुन्दर आकृति, रङहरुको उचित संयोजन, सौन्दर्य भाव एवं यससँग जोडिने कथावस्तु नै लोककलालाई जीवन्त र लोकप्रिय बनाउनुका मुख्य कारणहरु भएको उनको बुझाई छ ।

पर्यटन रणनीति योजना सम्बन्धी धारणा

नेपालको पर्यटन रणनीति योजनामा मिथिला लोककला क्षेत्रमा संलग्न समुदायको तर्फबाट एससि सुमन यस्तो धारणा राख्छन्,
‘नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले झण्डै साढे तीन सय पेजको नेपालको पर्यटन रणनीतिको दस वर्षे योजनामा तराई, मधेशको पर्यटनको विकासको लागि ठोस अवधारणा राख्न सकेको छैन। दुई चार ठाउँमा लुम्बिनी तथा जनकपुरको चर्चा गरिएको बाहेक कुनै रचनात्मक दृष्टिकोणको अभाव छ।
प्राचीनकालदेखि नै ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्ध जनकपुरलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्नसके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ। सँगै, पर्यटकलाई आकर्षित गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकला सहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा स्थापना गर्नुपर्ने आवश्यकता समेत थियो । त्यसो हुन नसक्नु दुखद छ ।’

उक्त रणनीतिको परिच्छेद स् २, २.१२, पेज नंम्बर ८८ मा सांस्कृतिक सम्पदा शिर्षक अन्तर्गत यस्तो उल्लेख गरिएको छ।
‘मिथिला कलाः मिथिला कला तराईमा बस्ने थारू समदुायको एउटा विशिष्ट सम्पदा हो। प्रायः महिलाहरू नै मिथिला कला सृजना कार्यमा सहभागी रहन्छन्। यस्ता कलामा समदुायको इतिहास, संस्कृति र संस्कारका कुराहरू झल्काइने गरिन्छ। हिजोआज मिथिला कलाले नेपालका प्रतिष्ठित होटल तथा व्यापारिक केन्द्र्रहरूको वैठक कोठा र भित्ताहरू मात्र सजिएका छन् । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाउन थालिसकेको छ।’ यस्तो व्याख्या अपूर्ण रहने एससि सुमनको धारणा छ ।


स्रोत ः सेतो घर

 शुक्रबार, फाल्गुन २६, २०७९


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.