Biography 

करिब ५।६ वर्षको उमेर देखि नै चित्र कोर्न रुची लाग्थ्यो । सिकाउने या सेरोफेरोमा कोहि चित्र बनाउने मानिस या साथीभाई नभए पनि आफै चित्र कोर्ने, रंग पोत्ने बानी र प्रभाव कहाँबाट प¥यो मलार्ई थाहा छैन ।

त्यति प्रतिष्पर्धीहरु पनि थिएनन् र सेरोफेरोमा पातलो पेपर बाहेक कुनै कला सामग्रीहरु पनि पाइंदैन थियो । यसैले कोइला र रंगको रुपमा बेसार, कलममा लाउने रातो, निलो, कालो मशी र आफैले हरिया पात कुटेर बनाएको हरियो झोल आदि यिनै हुन्थे आफ्ना कला सामग्री ।

विद्यालय स्थरमा मेरो स्थान चित्रकलामा पहिलो नै थियो । पढाइ तर्फ पनि कक्षा सात देखि दश सम्म पहिलो स्थान नै प्राप्त गर्ने सफलता मिल्यो । यस हिसावले शिक्षक, छिमेकी लगायत सबैले हौसला र माया दिन्थे । संगीतमा पनि मेरो निकै रुची थियो ।

घरको आर्थिक अवश्था निकै कमजोर थियो । एक्ली आमाले सानो चिया तथा मिठाई पसलको आडमा हामी ६ छोरा र एक दिदीलाई दुःखगरी पढाई हुर्काई गर्नुभयो । आमाको साहस, मेहनत र कुशलताको छिमेकीहरु पनि राम्रै प्रशंशा गर्दथे ।

आमाले आफैले लाउनु भएको सुनको सानो औंठी बेची जुटाइदिनु भएको रु. ३०० जति र दिदीले थपिदिनुभएको अरु एक डेढ सय रुपैंयाको आडमा म उच्च शिक्षा पढ्ने ध्येयले जे होला सामना गरुँला भन्दै एक्लै काठमाडौंतिर हुइकिँए, बिना कुनै ठेगाना २०३९ सालमा ।

साइन्स पढ्ने इच्छा थियो । तर आर्थिक कारणले अघिल्लो एक वर्ष यति कै घर मै थन्किन बाध्य भएको थिँए । चार घण्टा टाढाको सदरमुकाम इलाम बजार बाहेक सेरोफोरोमा क्याम्पस थिएन । उसमाथि त्यो बेला इलाम क्याम्पसमा साइन्स विषय पनि थिएन । एकवर्ष पढ्न नपाएकोमा खुब रुन मन लाग्यो ।

काठमाडौंमा आर्थिक संकटका बीच जसोतसो साथीहरुसँग मिलेर बस्ने व्यवस्था भयो । आफ्नो पढाई लगायत सवै खर्चकालागि दिउँसो काम खोज्नु या काम गर्नु पर्ने स्थितिमा कारण साइन्स पढ्ने रहर छोड्नु प¥यो । विहान वेलुका साइन्स पढ्ने क्याम्पस नभएको कारणले । विकल्पको रुपमा ललितकला पढ्छु भन्दा त्यो पनि दिउँसो मात्र पढाइ हुँदो रहेछ । यसैले बाध्यभएर वेलुकीको सिफ्टमा मानवीकि (आर्ट) पढ्न बाध्य भएँ । तर पछि यसभित्र नेपाली र विशेषत अंग्रेजी साहित्य (अंग्रेजी मेजर छानेकोले) पढ्न पाए पछि यसैमा धेरै रमाइलो लाग्यो । र साइन्स पढ्न नपाएको खल्लोपन पुरै पखालियो । झन् ठीक भएछ जस्तो पो लाग्न थाल्यो । क्याम्पस पढ्दा पढ्दै व्यक्तिगत, मानवीय स्वतन्त्रताका साथै देशको राजनैतिक परिवेशले पनि घच्घच्याउँदा तत्कालिन एकतन्त्रीय पंचायती व्यवश्थाको विरोध र प्रजातन्त्र र परिवर्तनको पक्षमा विद्यार्थी राजनीतिमा पनि मजैले सामेल भइयो । मेरो भूमिका धेरजसो कलाकारको रुपमा हुन्थ्यो । नयाँ साथीहरु पनि धेरै पाएँ खुशी लाग्थ्यो ।

यसवीच ०४०÷०४१ सालतिर दुईचोटी विद्यार्थी आन्दोलनमा सहभागी भएबापत जेल सजाय भोग्न पुगियो । करीब ३ महिना जति ।

खर्चका लागि साइनवोर्ड पसलमा (विहान ९–५ बजे) करिब ४÷५ वर्ष काम गरें । अक्षर र कहिले चित्र कोर्दै स्नातक स्तरको पढार्ई पनि पूरा भयो । यसवीच मैले कतिपय एकल तथा सामूहिक चित्र प्रदर्शनीहरु, कार्यशाला तथा प्रतियोगिताहरुमा सामेल हुने अवसर पाँए । केहि राष्ट्रिय स्तरका पुरस्कार र सम्मानहरु प्नि प्राप्त भयो ।

हाल म विगत २१÷२२ वर्ष देखि विद्यालयमा चित्रकला शिक्षकका रुपमा कार्यरत छु । अरु समय मूलत चित्र रचनाका साथै कहिले कहि छोटा साहित्यिक रचनामा कोर्न पनि समय लगाउँछु ।

शुरुमा केहि कला संस्थाहरुबाट समय समयमा चित्रकला सिक्ने मौका पाएँ । मूलत स्वःअध्ययन र अभ्यास नै मेरो कलायात्राको गोरेटो बन्यो । दिवंगत वरिष्ठ कलाकार मनुजबाबु मिश्रलाई मैले आफ्नो कला गुरु मानेको छु । बाँकी मेरा कलाका पक्षहरु मेरो व्यक्तिगत विवरण (बायोडाटामा) समावेश गरेको छु ।

 

सुवास क्षितिज श्रेष्ठ, (९८४१४९६३४५)

मंगलबोर–१, इलाम (हाल अस्थायी काठमाडौंबाट)



Click on the link below for more information about the artist.




About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts