‘ प्रदेशस्तरीय पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’

 



सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरे नगरमा प्रदेशस्तरीय २ दिने जलरंग महोत्सव हुने भएको छ ।

पथरी शनिश्चरे नगरपालिका कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनको मुख्य आयोजना र कला साहित्य प्रवद्र्धन समितिको सहआयोजनामा फागुन १ र २ गते वडा नम्बर १ स्थित शान्ति भूल्के सिमसार क्षेत्रमा जलरंग महोत्सव हुन लागेको हो ।

कलालाई नगरको पर्यटन प्रवद्र्धनमा समेत जोडेर कला र पर्यटनको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले जनाए ।

‘शान्ति भूल्के सिमसार र नगरको प्रयास ः कला, संस्कृति र पर्यटन प्रवद्र्धनको आभास’ भन्ने नाराका साथ काठमाडौं, पोखरा, पाल्पा सहितका बरिष्ठ कलाकारका साथमा १ नम्बर प्रदेशका बरिष्ठ तथा उदियमान कलाकारहरु सम्मिलित ‘प्रदेशस्तरीय पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ को आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न हुने छ । 

महोत्सवमा, जलरङ्ग कार्यशाला, ‘कला, संस्कृति र पर्यटन’ शिर्षकमा नगरका सामुदायिक माविस्तरीय चित्रकला प्रतियोगिता, अग्रज कलाकार र कलाप्रेमीलाई सम्मान तथा पुरस्कार वितरण, नेपालको चित्रकलाको इतिहास र वर्तमान विषयक गोष्ठी हुने भएको छ । गोष्ठीका वक्ताका रुपमा बरिष्ठ चित्रकार मुकेश मल्ल रहने छन् ।

फ्यूजनकी संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सरोजा खड्गीले आफ्ना आमा बुबाको नाममा स्थापना गरेर प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘विष्णु मीना ललितकला पुरस्कार’ समेत सोही कार्यक्रममा वितरण गरिने भएको छ । १० हजार राशी, मुहारचित्र र सम्मानपत्र रहेको सो पुरस्कार १ नम्बर प्रदेशका जलरंग कलाका अगुवा विराटनगरका ध्रुवनारायण डंगोललाई प्रदान गरिने छ ।

जलरंग महोत्सवमा, जलरंग क्षेत्रका स्थापित कलाकारहरु पोखरका एनबी गुरुङ, पाल्पाका डीराज पाल्पाली, भक्तपुरका दिपेन्द्रमान बनेपाली, राजेन्द्रप्रसाद याकामी, आशुराम खाइजू, चितवनका डी बराल, संखुवासभाका डीबी याम्फूको अगुवाईमा प्रदेशका स्थापित कलाकारहरु सम्मिलित हुनेछन् । जसमा, सुनसरीका जीवनाथ पोखरेल, प्रनोद दत्त, महेन्द्र राई, लेख मगर, झापाका पवन राजवंशी, युवराज रिजाल, छितेन शेर्पा, मोरङका शिव छाङछा राई, डा. विजुकुमार थपलिया र जयप्रकाश चौधरीले जलरंग चित्रकलामा आफ्नो सहभागिता जनाउने छन् । उनीहरुले स्थानीय नवोदित जलरंग कलाकारका लागि उत्प्रेरणा भर्दै पथरी शनिश्चरेका पर्यटकीय तथा मौलिक पक्षहरुको चित्र उतार्ने छन् ।

तिनै कलाकारहरु फागुन ४ गते विरानगरमा ‘विराट राजदरवार ः इतिहास उजागर ’ भन्ने मर्मका साथ चित्रकला कार्यशालामा सहभागि हुने छन् । विराटनगर महानगरपालिका कार्यालयको सहयोग र ललितकला संगमको सहकार्यमा विराट राजाको ऐतिहासिक दरबार रहेकोस्थल विराटनगर १८ मा एभरेष्ट आर्ट फ्यूजनले नै सो कार्यक्रम गर्ने भएको छ । 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.