विराटनगरमा वृहत् कला - कार्यशालाको भेट –लैनसिंह बाङ्देल

विराटनगरमा वृहत् कला - कार्यशालाको भेट



–लैनसिंह बाङ्देल

SOUVENIR 2058


धनुकुटाबासी एकजना विधार्थी उमेश अधिकारीले एक बिहानै मलाई फोन गरेर भने “सरको नाउँ मैले धेरै सुनेको छु, सरका पुस्तकरु पनि मैले पढेको छु तर मैले सरको कला भने हेर्न पाएको छैन ।”

यो २०५६ सालको कुरा हो । मैले भने, “ठिकै छ त, कितावहरु पढनु भएको रहेछ । तर मेरो कला हेर्न पाउनु भएको रहेनछ। कुनै बेला त्यो पनि हेर्नु होला ।”

अनि ती विद्यार्थीले मसंग गुनासो गरे, “काठमाण्डौं बस्ने धेरैले सरलाई भेटिसकेका होलान् । उनीहरुले भेट्ने मौका पनि पाइरहन्छन् । तर हामी जस्ता टाढामा बस्ने विद्यार्थीका निम्ति सर जस्ता व्यक्तिलाई भेट्ने मौका कहिले पाएनौं । त्यसैले सरलाई गुनासो पोखेको हुँ ।”

त्यो सुनेर म एक छिन अलमल्ल परें । विद्यार्थी हुँदा हामी पनि साहित्य र कलामा लागेका साधाकहरुलाई खोजी खोजी भेट्न जान्थ्यौं । त्यसो गर्ने पनि उमेर हुँदोरहेछ। त्यो उमेरको आकांक्षालाई सकेसम्म पूरा गर्ने जमर्कोमा हामीले पनि नेपालका अमर साहित्यकारलाई भेट्ने मौका पनि पाएका थियौं । त्यसबाट आफूले धेरै शिक्षा पाएका र त्यो दिशामा आफू पनि लाग्न पाए, शायद एक दिन त्यस्तै लेखककवि हुन सकिने थियो कि भन्ने मनमा कता कता इन्छा भइरहन्थ्यो ।

तर यहाँ कुरा आयो, एक जना धनकुटाबस्ने विद्यार्थीले हामी जस्ता अस्सीवर्ष पुग्न लागेका लेखक-कलाकारलाई उसले भेट्ने इच्छा गरेको कुरा । उनले गरेको कुराको उत्तरमा मैले भनें, “तपाईं धनकुटामा पढ़ने विद्यार्थी, म काठमाण्डौंमा घरजम गरी बस्ने मान्छे । कोही बेला, बेलामौकामा तपाई काठमाण्डौं आउनुभएको मौका पारेर मेरा घरमा आउनु भए हुन्छ नि, त्यहीं तपाई सँग भेट होला । म पाटनको सानेपामा बस्छु ।"

उनले भने, “मैले एक जनाले मात्र सरलाई भेट्ने कुरा भएन, यहाँ म जस्ता अरु विद्यार्थी पनि छन् जसले सरलाई भेट्न चाहन्छन् ।” मैले कुरा टार्न नसकेर उनलाई भने, “कुरा बखत मौका परेछ भने म नै धनकुटा आउँला नि त !”

त्यो कुरा सुनेर उनी केही उत्तेजित पनि भए । उनले भने, “त्यसो भए त साह्रै राम्रो हुने थियो सर !” अनि त्यो कुरा त्यत्तिकै रहयो । एकदिन उही विद्यार्थी उमेशले फोनमा मलाई भने, “सरलाई एउटा राम्रो कुरा सुनाउँ है ? धनकुटा नगर पालिका ले हामी सँग मिलेर सरको स्वागत गर्ने भएका छौं । सर कहिले धनकुटा आउनु हुन्छ ?' 



त्यो कुरा सुनेर मलाई पनि खुसी लाग्यो । अनि उनीसित त्यसबारेमा धेरै कुरा भयो धनकुटामा कहाँ बस्ने, के गर्ने, कसरी बन्दोबस्त मिलाउने ई. ई. । धनकुटा पुगेको बेला त्यहाँ मेरो अभिनन्दनका साथै एक कलाप्रदर्शनी पनि गर्ने कुरा चल्यो । कलाकारहरुमा धनकुटाका कलाकार र विराटनगरका कलाकारहरुले भाग लिने कुरा भयो । त्यसै सिलसिलामा काठमाण्डौंमा मैले सिकाएका कलाका विद्यार्थीहरुमा शान्त राई, नरेश सैंजु र हरिवहादुर खड़का “ हामी पनि सरसंग जान्छौं” भनेर कुरा चलाए । यसरी कुरा मिलाएपछि हामी धनकुटा जान तयार भयौं । हामी विराटनगरसम्म प्लेनमा गयौं । साथमा मेरी श्रीमती पनि थिइन् । विराटनगरमा उनै उमेश अधिकारी हामीलाई पर्खिरहेका र हेछन्, भेट भयो अनि त्यसपछि धनकुटातिर हिंड्यौं । विराटनगरबाट धनकुटा जाने कलाकारहरुमा गोपाल कलाप्रेमी र श्रीमती गंगा सुवेदी पनि थिइन् र धरानबाट चाँहि कर्ण मास्के थिए ।
विराटनगरबाट ओरालो उकालो हुँदै सुन्दर दृश्यको बीच बाटो भएर कोशी नदी पार गर्दै हामी धनकुटा पुग्यौं । धनकुटामा हामीलाई स्वागत गर्न भनेर उपमेयर जीवनप्रसाद पोखरेल, नगर पालिकाका सचिव गणेश प्रसाद भट्टराई, सि.डि. ओ. शम्भु कोइराला आदिसंग भेट भयो । हामी खुशी भयौं किनकि हाम्रो रहने बस्नेको राम्रो व्यवस्था मिलाइदिनु भएको रहेछ । हामी धनकुटामा ४ दिन बस्यौं । पहाडको ठाउँ, अत्यन्त सुन्दर लाग्यो । पहिलो दिन नगर पालिकाबाट अभिनन्दन भयो, चित्रकलाको पनि त्यसै दिन उदघाटन भयो । सो समाहरोमा टाड़ा टाड़ा बाट मानिसहरु आएका थिए । दोस्रो र तेस्रो दिन अनेक कार्यक्रमहरुमा भाग लिनुपयो जस्तै घरेलु विभागको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी । त्यसै दिन आठ पहरियाको मार्गथान र बाउन्ने चुलोको निरीक्षण गरियो । तेस्रो दिन पाख्रिवासको कृषिफार्म र हिले डुल्न पनि गयौं । अनि चौथो दिनमा हामी विराटनगर फक्यौं ।
धनकुटाको यो अप्रत्याशित सफलताले हामी सबैको मनमा एउटा ताजाजागृतिको उदय भयो । हामी विराटनगरमा आएपछि त्यहाँका कलाकार समूहमा खासगरी गंगा सुवेदी र उहाँको श्रीमान दिनेश सुवेदीले हामीहरु सबैको स्वागत गरी एउटा रात्रिभोजको भव्य स्वागत गर्नु भयो । त्यहाँ कलाकारहरुको बीचमा धेरै कुरा भयो । यस्तै किसिमको कुरा चल्दा “ अर्को वर्ष एउटा कला वर्कशपको आयोजना किन नगर्ने ?” भनी हाम्रा दिनेशजी ले भन्नु भयो । उहाँले “ विराटनगरमा एउटा भव्य वर्कशप गर्न सकिन्छ । त्यसको लागि हामी एउटा राम्रो व्यवस्था मिलाउन सक्छौं । त्यसको "जिम्मा म लिन्छु ।” भन्नु भयो । त्यो एउटा बहुतै खुशीको कुरा थियो ।
दिनेशजी कलाकार होइनन्, व्यापारी हुन् । तर कलाको उत्थानको लागि र त्यसको व्यापक प्रचारको निम्ति उहाँले जे पनि गर्न सक्नु हुन्छ । विराटनगरको व्यापारिक समुहमा उहाँको विशेष हात छ। उहाँकै श्रीमती गंगा सुवेदी एक जना कुशल कलाकार र कथालेखिका एवं कवयित्री पनि हुनुहुन्छ । उहाँ रोटरी क्लबमा मेम्बर हुनुहुन्छ । चित्रकला, काष्ठकलाका अनेक उदाहरणहरु यही ठाउँमा प्रदर्शित हुन्छन् । तिनलाई यहीं हेर्न पाइन्छ । यसै सन्दर्भमा आज हामीहरु पनि समसामयिक चित्रकला र मूर्तिकलाको प्रदर्शनी गर्दै छौं । वर्कशप गर्दै छौं । कला चर्चा परिचर्चा गर्दै छौं । तर काठमाण्डौं प्राचिन कालदेखि नेपाली कलाको राजधानी भईकन पनि कलाको क्षेत्रमा यो नगरले धरै कुरा गर्न सक्थ्यो, त्यो


गर्न सकेको छैन । एक त यो नगर जहिले पनि आफ्नै धुनमा व्यस्त छ, दोस्रो कुरा यो नगरले बाहिर का अरु नगरवासीलाई कहिले सघाउ पुऱ्याउँदैन, वा प्रोत्साहन दिँदैन, तेस्रो कुरा कलाले धनी भएको यो नगरमा विकासको लागि सरकारले कति खर्च गरेको छ ? कलाकारहरुको कलाप्रदर्शनी वा वर्कशपकै लागि सरकाले वर्षेनि कति पैसा दिएको छ ? यस नगरमा भइराखेका त्यतिका प्रदर्शनीहरुबाट सरकारी भवनहरु सिंगार्नलाई सरकाले वर्षेनी कति तस्वीर र मूर्तिहरु किनेको छ ? त्यतिका सेमिनार वर्कशप भइरहन्छन् तिनमा सरकारले कति पैसा मद्दत गरेको छ ?
यी सबै कुराको वावजुद पनि काठमाण्डौंमा आफ्नै धुनमा सधैं व्यस्त छ । तर यही मौका पारेर विराटनगरले कलाको विषय लिएर राम्रो कार्यक्रम गर्न सक्यो भने, राष्ट्रमा भएका केही बुद्धिजीवी कलाकारलाई विराटनरमा भेला गरेर छलफल गर्न सक्यो भने त्यो भन्दा राम्रो कुरा अरु के हुन सक्थ्यो ! यी कुराहरु त काठमाण्डौंका कलाकारहरुले पो गर्नुपर्थ्यो तर माथिनै भनिहालें - त्यो नगर सँधै व्यस्त छ । यस कामका लागि हाम्रा दिनेशजीले जिम्मा लिनु भए पछि अब सबै काम योजनाबद्ध तरिकाले चल्ने छ भनेर मलाई पक्का भयो । यो कार्यक्रमको बारेमा मलाई सर्ब योजना बताउनु भयो । कलाकारहरुलाई कसरी विराटनगर ल्याउने, उनीहरुको बस्ने व्यवस्था, खाने व्यवस्था, कसरी गर्ने व्यवस्था इत्यादि सबै कुराको वन्दोवस्त गर्नु भएको रहेछ।
म दिनेशजीलाई राम्ररी चिन्द छु । उहाँको योग्यता, उहाँको परिश्रम, उहाँको एउटा काम थाले पछि त्यो नसके सम्म लागिपर्ने बानी, साथी भाईहरु सबलाई हातमा लिएर जस्तै गाह्रो काम पनि गर्ने, गराउने इत्यादि गुणले गर्दा व्यापारिक समुदायमा उहाँको नाउँ छ । विराटनगरको गोल्छा, दुगड़ आदि करोड़पतिसंग उहाँको राम्रो संसर्ग छ । यी सबै कुरा हेर्दा मृदुभाषी दिनेशजीले कलाकार हरुका निम्ति अरुले गर्न नसकेका कुरा गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास भयो। मलाई हेरेर मीठो शव्दमा दिनेशजीले भन्नु भयो " हामीलाई खाली हजुरको आशीर्वाद चाहिन्छ, अरू सबकाम मिलेर हामी गर्नेछौं ।"
मेरा जीवनको यति लामो उमेरसम्म मैले धेरै काम कुरा गर्दै आएको छु तर आज आएर, एकजना उत्साही युवाले यो कुरा भन्दा मेरो हृदय नाङ्गलो जत्रो गर्वले ठूलो भएको महसुस गरें । यि युवावर्गले देशको सेवा गरेर आफ्नो राष्ट्रको नाउँ राख्नेछन् भन्ने मलाई विश्वास भयो ।
यसरी दिनेशजी र गंगा सुवेदीबाट योजनाको सारा वृतान्त सुन्न पाएँ । मलाई बहुतै खुसी लाग्यो । काठमाण्डौंबाट अभि सुवेदी, शशी शाह, कृष्ण मानन्धर आदि जाने र उहाँहरुको साथमा लागेर झण्डै ४० कलाकारको एक समुह पनि यहाँबाट बसमा जाने योजना रहेछ । यो सुनेर मलाई बहुतै खुशी लाग्यो। यो बुढेसकालमा ती कलाकार साथीहरुसँग भेटेर कुराकानी, गफसफ गर्न पाउँदा खुशी नै लाग्नेछ । एउटा संझना पनि हुन्छ ।

स्रोतः 
SOUVENIR (
स्मारिका )2058


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.